कालिकोट । लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्द्धनका लागि महिला समूह तथा सञ्जालका महिलाहरुलाई लक्षित गरी एकदिने ‘रूपान्तरणात्मक महिला वादी नेतृत्व विकास तालिम’ सम्पन्न भएको छ।
शुभकालिका गाउँपालिकाको सहकार्य र महिला पुनर्स्थापना केन्द्र (ओरेक)को सहजीकरणमा महिला सञ्जाल कालिकोटको आयोजनामा तालिम सम्पन्न भएको हो।
तालिम शुभकालिका गाउँपालिका वडा नं. ७, ८ र ९ अन्तर्गत मुग्रा गाउँमा असार ५ गते, वडा नं. ४, ५ र ६ का लागि सुकाटियामा असार ६ गते र वडा नं. १, २ र ३ का लागि भर्तामा असार ७ गते गरी तीन चरणमा सञ्चालन गरिएको थियो।

तालिममा ओरेक कर्णाली प्रदेश संयोजक दिलकुमारी बुढा मगरले सहजीकरण गरेकी थिइन् भने अमृता अधिकारी र पार्वती लामिछाने सह-सहजकर्ता रहेका थिए। कार्यक्रमको अध्यक्षता महिला सञ्जाल कालिकोटकी अध्यक्ष जयकौरा महतरा शाहीले गरेकी थिइन्।
कार्यक्रममा समावेशी नेतृत्व विकास, लैङ्गिक सशक्तिकरणमा महिलाको भूमिका, महिला वादको आवश्यकता र राज्य प्रणालीमा लैङ्गिक संवेदनशीलताको महत्वबारे विस्तृत छलफल गरिएको थियो।
सहभागी महिलाहरूले नेतृत्वदायी भूमिकामा सक्रिय सहभागीता जनाउन सक्ने क्षमता विकासमा तालिम उपयोगी भएको प्रतिक्रिया दिएका थिए।
