सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का प्रचार विभाग संयोजक मिनबहादुर शाहीले निर्वाचनको मुखमा जेनजी पुस्ताको आन्दोलनसम्बन्धी बिबिसीको डकुमेन्ट्री सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले सो सामग्री मतदाताको मनोविज्ञान प्रभावित पार्ने उद्देश्यले ल्याइएको दाबी गरे।

शनिबार सुर्खेतमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन नजिकिँदै गर्दा डकुमेन्ट्री सार्वजनिक गर्नु र मिडियामा मत सर्वेक्षण प्रकाशन गर्नु मतदातालाई प्रभावित पार्ने प्रयास भएको बताए। यस्तो गतिविधिले मतदाताको स्वतन्त्र छनोटको अधिकारमा असर पार्न सक्ने उनको भनाइ थियो।
एमालेले सधैं स्वतन्त्र प्रेसको सम्मान गर्ने उल्लेख गर्दै उनले पछिल्ला गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको बताए। यसपटकको निर्वाचनमा एमालेले लोकप्रिय मतसहित सरकारको नेतृत्व गर्ने दाबी गर्दै उनले पार्टीले कतै पनि गठबन्धन नगरेको स्पष्ट पारे।
जेनजी पुस्ताको आवाजलाई पार्टीको प्रतिबद्धतापत्रमा समेटिएको जनाउँदै उनले यो निर्वाचन देश बचाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा भएको टिप्पणी गरे। युवाको आवाज जायज भए पनि आन्दोलनका नाममा भएका तोडफोड र क्षतिप्रति असन्तुष्टि रहेको उनले बताए।
कर्णालीका १२ मध्ये ११ निर्वाचन क्षेत्रमा एमालेको जित हुने दाबी गर्दै उनले देशभर पार्टीको पक्षमा माहोल बनेको उल्लेख गरे। १४ लाखभन्दा बढी नेता–कार्यकर्ता चुनावी अभियानमा खटिएको भन्दै आगामी सरकारको नेतृत्व एमालेले गर्ने उनको विश्वास छ।
पार्टीको प्रतिबद्धतापत्रमा युवा, प्रविधि, उद्यमशीलता, सामाजिक सुरक्षा, रोजगारी र विकासलाई प्राथमिकता दिइएको उनले बताए। फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक रहेको उल्लेख गर्दै केही विषयमा अझै शंका रहेको उनको भनाइ छ।
एमाले संविधान, कानुनी शासन र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्वाचन प्रभावित पार्ने गतिविधि नगर्न सबैलाई आग्रह गरे।
यसैबीच, एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले वीरेन्द्रनगर नगरपालिका–१० मा मतदातालाई प्रभावित पार्न पाइप बाँडिएको भन्ने आरोप अस्वीकार गरे। उनले पार्टीले त्यस्तो कुनै गतिविधि नगरेको बताए।







