ओलीको गिरफ्तारीविरुद्ध एमाले सुर्खेतको आपत्ति



सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

शनिबार जारी प्रेस विज्ञप्तिमा एमाले सुर्खेतले साेहि कदमलाई गैरकानुनी, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक भन्दै भत्र्सना गरेको हो ।
जिल्ला अध्यक्ष कुलमणि देवकोटाद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा ओलीलाई नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।

एमालेले भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगको निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ । आयोगको गठनदेखि प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियासम्म अपारदर्शी र पूर्वाग्रही रहेको दाबी गर्दै एमालेले प्रतिवेदन एकपक्षीय र अपूर्ण रहेको जनाएको छ ।

विज्ञप्तिमा वास्तविक दोषीलाई जोगाउन र शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाइएको छ ।

विज्ञप्तीमा सरकारको ‘निरंकुश’ शैलीको विरोध गर्दै अध्यक्ष ओलीलाई विना सर्त तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ । यस्तै, जाँचबुझ आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, निष्पक्ष र स्वतन्त्र नयाँ आयोग गठन गर्नुपर्ने । घटनामा संलग्न वास्तविक दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग एमाले सुर्खेतले गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार