कर्णालीमा अस्पतालको सेवा प्रवाह निकै कमजोर



सुर्खेत । न्यूनतम सेवा मापदण्ड एमएसएस मा कर्णाली प्रदेशका जिल्ला तहका केही अस्पतालको सेवा प्रवाह निकै कमजोर रहेको पाइएको छ ।

न्यूनतम सेवा मापदण्ड अनुसार कर्णालीका ११ वटा अस्पतालमध्ये तीन वटाले मात्र मापदण्ड अनुसार उत्कृष्ट सेवा प्रवाह गरेको, दुई वटाको सन्तोषजनक रहेको र छ वटाको अत्यन्तै कमजोर सेवा प्रवाह देखिएकोे बताइएको छ ।

मापदण्ड कार्यान्वयनको अवस्थामा उत्कृष्ट देखिएका सुर्खेतस्थित प्रदेश अस्पताल, कालीकोट अस्पताल र सल्यान अस्पताल गरी तीन वटा अस्पताल रहेका छन् । स्वास्थ्यसेवा निर्देशनालयका जनस्वास्थ्य प्रशासक भानुभक्त बस्यालले डोल्पा अस्पताल, रुकुमपश्चिम अस्पताल, जाजरकोट अस्पताल, सुर्खेतको मेहेलकुना अस्पताल, हुम्ला अस्पताल र दैलेखको दुल्लु अस्पताल भने मापदण्ड अनुसार निकै कमजोर रहेको पाइएको बताउनुभयो ।

मापदण्ड कार्यान्वयनको अवस्थामा डोल्पा अस्पतालको ७४ प्रतिशत, रुकुमपश्चिम अस्पतालको ७३ प्रतिशत, जाजरकोट अस्पतालको ६४ प्रतिशत, मेहेलकुना अस्पतालको ६० प्रतिशत, हुम्ला अस्पतालको ६४ प्रतिशत र दुल्लु अस्पतालको ६२ प्रतिशत मात्र रहेको छ । कमजोर अवस्थामा रहेका अस्पतालको सबै पक्षमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यस्तै मुगु अस्पताल र दैलेख अस्पतालको अवस्था सन्तोषजनक रहेको छ । मुगु अस्पतालले न्यूनतम सेवा मापदण्ड ८३ प्रतिशत र दैलेख अस्पतालले ८२ प्रतिशत कार्यान्वयन गरेका छन् ।

प्रदेश अस्पतालको ८८ प्रतिशत, कालीकोट अस्पतालको ८७ प्रतिशत र सल्यान अस्पतालको ८७ प्रतिशत कार्यान्वयन अवस्था रहेको पाइएको निर्देशनालका जनस्वास्थ्य प्रशासक बस्यालले बताउनुभयो । मापदण्डमा सुशासन, व्यवस्थापन, स्वास्थ्यसेवा प्रदान गर्ने तौरतरिका र अस्पताल सहयोग कार्यक्रम मुख्य तत्व मानिएको थियो ।

निक साइमन इन्स्टिच्युटका वरिष्ठ कार्यक्रम प्रबन्धक डा। कासिम साहले मापदण्ड कार्यान्वयनमा कर्णालीका आधा जति नै अस्पताल सुधार गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिनुभयो । विगतको तुलनामा सेवाप्रवाहमा सुधार आए पनि अझै थप गर्नुपर्ने अवस्था छ । उहाँले जिल्ला तहका अस्पतालमा मात्र होइन, अबका स्थानीय तहका अस्पतालमा पनि न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार