पञ्चकोशी । गाउँपालिकाभित्रका ३९ सामुदायिक विद्यालयका शिक्षकलगायत अन्य सहयोगीले लामो समयदेखि तलब नपाएको भन्दै विद्यालय बन्द गरेर धर्नामा उत्रिएका छन् ।
दैलेखको ठाटीकाँध गाउँपालिकाको विद्यालयमा कार्यरत पालिका अनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा कार्यालय सहयोगी गरी ९६ जनाले तलब पाएका छैनन् । पालिकाले करिब दुई करोड ८५ लाख ७८ हजार रुपियाँ तलब शिक्षकलाई दिन बाँकी रहेको जनाइएको छ ।
संयुक्त शिक्षक तथा विद्यालय कर्मचारी सङ्घर्ष समितिका अनुसार पालिका अनुदान शिक्षकले ११ महिनादेखि, बालविकास सहजकर्ताले १४ महिनादेखि र विद्यालय कर्मचारीले १९ महिनादेखि तलब पाएका छैनन् । बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ ।
गाउँपालिकाले विभिन्न समयमा तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको ठाटीकाँध गाउँपालिका अनुदान सङ्घर्ष समितिका अध्यक्ष कमलकुमार खत्रीले बताउनुभयो । उहाँले माग पूरा नभएसम्म समितिले विद्यालयको पठनपाठन प्रभावित बनाउने, शिक्षा शाखासहित गाउँपालिकाका विभिन्न प्रशासनिक कार्यालयमा तालाबन्दी गर्ने तथा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको जनाउनुभयो । उहाँले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो ।
“लामो समयदेखि तलब नपाउँदा शिक्षक तथा कर्मचारीको दैनिक जीवनयापन नै कठिन बनेको छ, पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि विद्यालय बन्द गरेर आन्दोलन गर्न बाध्य भएका हौँ,” उहाँले भन्नुभयो ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नेत्रबहादुर थापाले शिक्षक तथा कर्मचारीको तलब भुक्तानीका लागि पहल भइरहेको बताउनुभयो । उहाँले लामो समयदेखि तलब नपाउँदा शिक्षक आक्रोशित बनेका र तलब नपाउँदासम्म विद्यालय सञ्चालन नहुने बताउनुभयो । दुई महिनाको भुक्तानी दिने निर्णय भए पनि शिक्षकले सबै तलब पाउने माग गरेपछि समस्या भएको उहाँको भनाइ छ । साथै उहाँले आन्दोलनका कारण विशेष गरी विद्यार्थीको पढाइ प्रभावित भएकोसमेत जनाउनुभयो ।
“शिक्षक तथा कर्मचारीले लामो समयदेखि पारिश्रमिक नपाउँदा समस्या हुनु स्वाभाविक हो, गाउँपालिकाले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको छ,” शिक्षा अधिकृत थापाले भन्नुभयो, “विद्यालय बन्द हुँदा हजारौँ विद्यार्थीको पढाइ प्रभावित भएको छ भने अभिभावक र सरोकारवालाले पनि समस्या छिटो समाधान गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।” सङ्घर्ष समितिले शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताको श्रमको सम्मान गर्दै तत्काल तलब भुक्तानीको व्यवस्था गर्न माग गरेको पनि उहाँले बताउनुभयो । आन्दोलनलाई रोजगारी र बाँच्न पाउने अधिकारसँग जोडिएको विषयका रूपमा व्याख्या गर्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।









