पहिरोले घर पुर्दा अछाममा एकै परिवारका ३ जनाको मृत्यु

अछाम । निरन्तर परेको बर्षाका कारण पहिरोले घर पुर्दा अछाममा एकै परिवारका ३ जनाको ज्यान गएको छ भने पहिरोमा पुरिएर एक जना घाइते भएका छन । तुर्माखाँद गाउँपालिका वडा नम्बर– २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ।राति एक बजे आसपासमा गएको पहिरोले स्थानीय पदमसिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरू पुरिएको हो ।

मृत्यु हुनेहरूको परिचय खुल्न भने बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।राति नै पहिरो खसेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय अछामको टोली द्धटनास्थलतर्फ गएको छ । तर बाटो लामो र पैदलयात्रा नै गर्नुपर्ने हुँदा टोली त्यहाँ पुगिनसकेको प्रहरीले जानकारी दिए ।