काठमाडौँ । साइक्लिङ संस्कृति बढाउन कर्णालीका युवाहरुहरुले जुम्ला र सुर्खेतमा कोरा साइक्लिङ गरेका छन् ।
जुम्लाका युवाहरुले जुम्ला लाम्रा गाउँको तिला उपत्यका आसपास ऐरेनीबाट हाकुँसाघुँ, हाँकुँगाउँ, गाडापारी, खल्लासाँघु, तलिउम, श्रीनगर, लाम्रासम्म कोरा राईड गरेका हुन् । यसको अगुवाई युवा कपील चौलागाईँले गरेका थिए ।
यसैगरी डा भूमेश काफ्लेको समूहले जुम्लाबजार, चन्दननाथ मन्दिर, तिलानदीको पुल, बोहरागाउँ, गैरागाउँ आसपासको साईकल राईड गरेरका थिए । यसैगरी कर्णाली राइडर्सको नेतृत्वमा सुर्खेतमा काँक्रेविहान कोरा च्यालेन्ज पनि भएको छ । २० जना राईडर्सले सुर्खेतको मंगलगढीबाट देउतीबज्यै मन्दिर, शिवमन्दिर, काँक्रेविहारको परिक्रमा गरेका थिए ।
नेपालका सबै प्रमुख शहरहरु र विदेशमा केही स्थानमा समेत आज हजारौं राईडर्स सहभागी भएर कोरा साईक्लिङ्ग गरिएको छ । हरेक बर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरा साईक्लिङ्ग नेपालमा साईकलिङ्गको सबैभन्दा ठूलो कार्यक्रम हो ।
कोराको अर्थ पवित्रस्थलको परिक्रमा गर्नु हो । काठमाण्डौ उपत्यकाका सबै तीर्थस्थललाई केन्द्रमा राखेर उपत्यकाआसपासका बस्ती हुँदै साइकल यात्रा गर्ने गरी शुरु गरिएको कोरा च्यलेन्ज पछिल्लो केही वर्ष यता लोकप्रिय छ ।
कोरा साइक्लिङले मानिसहरुमा मनोरन्जन गर्ने, सद्भाव बढाउने, संजाल निर्माण गर्ने र पर्यटकीय प्रचार प्रसार तथा नयाँ गन्तव्यको पहिचान समेत गर्छ । हिमाली जिल्ला जुम्लामा साइकल र माउण्टेन बाइकको सम्भावनालाई उजागर गर्न गत वर्षदेखि यही दिनमा दिनमा पहिलो कोरा साइक्लिङ च्यालेन्ज गरिएको थियो ।
जुम्लाको तिला उपत्यका र सिजा उपत्यका आसपासका गाउँ बस्तीहरु साइकलका माध्यमले सहजै जोड्न सकिन्छ । जुम्ला हाईअल्टिच्युड साइक्लिङ अभ्यासको निम्ति महत्वपूर्ण गन्तव्य हुनसक्छ ।
सुर्खेतमा दैनिक कामकाजमा साइकलको प्रयोग बढाउन सके वातावरण प्रदुषण न्यून गर्न सकिने साइकल राइडरहरुको भनाइ छ ।
ए.के. सञ्चार । ३ श्रावण २०७८, आईतवार १०:४९