दार्चुला । शुक्रवार रातिदेखि परेको निरन्तर वर्षाका कारण महाकाली नदी र लास्कु खोलामा बाढी आएको छ । उक्त बाढीमा परि बेपत्ता भएका ११ जना मध्भे पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको हो।
यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको पनि शव भेटिएको छ। पहिरोले सल्लाका आठ घर पुरिएका छन् । स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।
दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढी–पहिरोका कारण डेढ दर्जन घरहरू बगेका छन्। डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका चारजना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताए। यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ।
ए.के. सञ्चार । २५ भाद्र २०७९, शनिबार ११:५०