काठमाडौं । ओमिक्रोनको संक्रामक सबभेरिएन्ट ‘एक्सबीबी’ नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ । यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएको छ ।
ए.के. सञ्चार । ७ कार्तिक २०७९, सोमबार ०८:४८