नगर विकासकाे जग्गा खाली गर्दा व्यवसायीले गरे ढुंगामुढा

सुर्खेत । सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका संरचना खाली गर्ने क्रममा झडप भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउने क्रममा स्थानीय व्यापारीले ढुङ्गा मुढा गरेका हुन् ।

व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ भने एक जना कर्मचारी घाइते भएका छन् ।

नगरपालिकाकाे डाेजर र कर्मचारी माथि ढुङ्गा मुढा भइरहदा नेपाल प्रहरी भने मूकदर्शक देखिएको थियो । प्रहरीले माथिबाट आदेश नआएको भन्दै मुकदर्शक बनेको एक प्रहरीले बताए ।

सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिका आफैले आज डोजर चलाएको थियाे ।

माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए ।