सुर्खेतमा माक्स लगाउन अटेर गर्ने ५० जना बढीलाई जरिवाना

सुर्खेत । कोरोनोको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरेपनि सर्वसाधारणले अटेर गर्दा सय रुपियाँ जरिवाना लगाइएको छ । आइतवार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवना गराइएको हो ।

करिव एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना कार्यक्रम थालिएको थियो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, गैरसरकारी संघसंस्थाहरुले कोरोनाबाट बच्नका लागि मास्क अनिवार्य लगाउन आग्रह गर्दै प्रचारात्मक कार्यक्रम गरेका थिए । यति गर्दा पनि सर्वसाधारणहरु मास्क लगाउन अटेर गरेपछि बाध्य भएर जरिवाना लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए ।

सर्वसाधारणले मास्क लगाउन जति आग्रह गरेपनि नमानेका कारण जरिवाना लागू गरिएको उनको भनाइ छ । उनका अनुसार जरिवाना काट्दै मास्क दिदैं गरिएको छ । आइतवार साँझसम्म ५० जनालाई जरिवाना गराइएको सहायक प्रजिअ महतले बताए । मास्क लगाउन अटेर गर्नेलाई अव जरिवाना निरन्तर गरिने उनको भनाइ छ । स्वास्थ्यकर्मीहरुले पनि मास्क लगाउँदा कोरोनाको भाइरस सर्ने क्रममा कमी आउने बताएका छन् ।