२०८२ असार ११ , बुधबार

सेनाले गाउँमै पुर्‍यायो विशेषज्ञ स्वास्थ्य सेवा, ५५६ लाभान्वित



जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली सेनाले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ५ सय ५६ जना स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।

सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र मुगुका खत्याड गाउँपालिकाका नागरिकलाई लक्षित गरी आयोजित शिविरमा ३१९ महिला, १८४ पुरुष र ५३ बालबालिकाले सेवा पाएका हुन् ।

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाइँदा स्थानीय हर्षित भएका छन्। केही समयअघिसम्म सेना देख्दा भाग्ने अवस्था रहेको स्मरण गर्दै स्थानीय प्रशान्त कामी भन्छन्,`अहिले सेना शान्ति सुरक्षासँगै स्वास्थ्य सेवा लिएर गाउँमै आइपुगेका छन्। योभन्दा सुखद कुरा के हुन सक्छ?

शिविरमा नेपाली सेनाको नं.२४ गुल्मका चिकित्सकहरूका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनरल फिजिसियन, स्त्री रोग तथा दन्तरोग विशेषज्ञसमेत सहभागी थिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको शिविरको संयोजन देवीदत्त गण, कनकासुन्दरी गाउँपालिका र जनस्वास्थ्य सेवा केन्द्र जुम्लाले गरेका थिए।

गणपति सेनानी धिरज थापाका अनुसार दुर्गममा सेवा दिनुका साथै सेना र नागरिकबीचको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले यस्तो शिविर गरिएको हो।

यो शिविरले स्वास्थ्य पहुँच नपुगेका नागरिकलाई राहत मात्र दिएको छैन, नेपाली सेनाप्रति बुझाइ र भरोसा पनि फेरिएको स्थानीयकाे भनाइ छ।

प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार