चितवन । चितवनस्थित भरतपुर महानगरपालिका र डोल्पाको मुड्केचुला गाउँपालिकाबीच समन्वय, सहकार्य र आपसी विकासलाई सुदृढ गर्न सात बुँदे भगिनी सम्बन्धमा औपचारिक सहमति भएको छ।

नगर प्रमुख रेणु दाहाल (भरतपुर) र गापा अध्यक्ष दत्त बहादुर शाही (मुड्केचुला) ले संयुक्त रूपमा भगिनी सम्झौतापत्रमा हस्ताक्षर गरी दुई स्थानीय तहबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएका हुन्।
वागमती प्रदेशको भरतपुर र कर्णाली प्रदेशको मुड्केचुलाबीच धार्मिक र सांस्कृतिक रूपमा धेरै समानता रहेको जनाइएको छ। देवघाटधाम र मुड्केचुलास्थित तीर्थस्थलहरूलाई केन्द्रमा राखी पर्यटन प्रवर्द्धनमा प्राथमिकता दिइने सहमति गरिएको छ।
सम्झौताअनुसार कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, प्रविधि, उद्यमशीलता र संयुक्त परियोजनाहरूमा सहकार्य गरिनेछ। मौलिक कृषि उत्पादनको बजारीकरण, प्रविधिको आदान–प्रदान, प्राविधिक तालिम, अध्ययन भ्रमण तथा सफल अभ्यासहरूको साझेदारी मार्फत सेवा प्रवाहमा सुधार ल्याउने योजना बनाइएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, एम्बुलेन्स सेवा, दमकल व्यवस्थापन, बस्ती तथा पूर्वाधार विकास, भौतिक र आर्थिक सहयोग जस्ता क्षेत्रमा पनि संयुक्त कार्यक्रमहरू सञ्चालन गरिनेछ।
यो भगिनी सम्बन्धले दुई भौगोलिक रूपमा फरक स्थानलाई सामाजिक, आर्थिक र सांस्कृतिक दृष्टिकोणबाट नजिक ल्याउने विश्वास व्यक्त गरिएको छ।








