
सुर्खेत । कर्णालीको सांगीतिक क्षेत्रमा स्थापित नाम बनाइसकेकी गायिका हरिमाया कार्कीले हिन्दु नारीहरूको पर्व तीजलाई लक्षित गर्दै नयाँ गीत ‘मधु’ ल्याउने तयारी गरेकी छन् ।
आमाले पठाएको सिफनको सारी, नाच्छु फरर मधु भुइँमै लरर बोलको गीत शुक्रबार ९आज० सार्वजनिक गरिने भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष समेत रहेकी कार्कीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पोस्टर सार्वजनिक गर्दै गीत रिलिजको समय घोषणा गरेकी हुन् ।
उनका अनुसार ‘मधु’ आज दिउँसो ४स्१५ बजे ‘हरिमाया कार्की अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।
गीतमा स्वर, शब्द, संगीत र निर्माण स्वयम् कार्कीको रहेको छ । तीजमा महिलाले भोग्ने भावनात्मक क्षण, माइतीको सम्झना र उत्सवको उल्लास गीतमा कलात्मक ढंगले उतारिएको बताइएको छ ।

गीतको भिडियोमा गायनसँगै दृश्य माध्यममा पनि स्थापित बनिसकेकी जानकी पुन मगर र समीक्षा सुनारको आकर्षक नृत्य देख्न सकिनेछ ।
निर्देशन, छायांकन, सम्पादन र रंग संयोजन निर्मल प्याकुरेलको रहेको छ । भिडियोको कोरियोग्राफी चन्द्रबहादुर मन्दिर मगरले गरेका हुन् भने संगीत संयोजन खेमराज गौतमले सम्हालेका छन् ।
गीतको पोस्ट प्रोडक्सन श्रीनाथ फिल्मस्, सुर्खेतमा गरिएको हो । हरिमायाको यो वर्षको तीज विशेष श्रृंखलामा ‘मधु’ पहिलो प्रस्तुति हो । अर्को तीज गीत ‘छोरीको मर्म’ श्रावण ७ गते अपराह्न ४स्०५ मा सार्वजनिक हुने तय भइसकेको छ ।
गत वर्ष ‘पार्वता’ बोलको तीज गीत ल्याएर चर्चा कमाएकी कार्की विगत २५ वर्षदेखि गायन र अभिनय क्षेत्रमा निरन्तर सक्रिय छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना गीतप्रति दर्शक र श्रोतालाई साथ, स्नेह र प्रतिक्रिया जनाउन आग्रह गरेकी छन् ।
