जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख चिरञ्जीवी दाहालका अनुसार क १ त १४ नम्बरको ट्याक्टर मंगलबार साँझ करिब ६ बजे तातोपानी गाउँपालिका –३ को खोलासडा भन्ने स्थानमा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परी तिला गाउँपालिका –४ निवासी ३५ वर्षीय खबेन्द्र शाहीको मृत्यु भएको छ भने तिला गाउँपालिका –४ नुवाकोट निवासी ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते हुनुभएको छ ।
दाहलका अनुसार ट्याक्टर जुम्ला बजारबाट सामान लिएर तिला गाउँपालिका –४ नुवाकोटतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । उक्त ट्रयाक्टरका साहु वीरबहादुर शाही रहनुभएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।









