प्रहरीले एक करोड ४६ लाख जरिवाना तोकिएका एक युवकलाई पक्राउ



बाँके प्रहरीले एक करोड ४६ लाख जरिवाना तोकिएका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० का ३५ वर्षीय कुलिन भनिने अबिनाश राणा छन्।

बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार राणा विरूद्ध जिल्ला अदालत बाँकेले एउटा बैंकिङ कसुर मुद्दामा २ महिना कैद तथा एक करोड ३० लाख जरिवाना, अर्को बैंकिङ कसुर मुद्दामा ९ दिन कैद तथा साढे १६ लाख जरिवाना र चेक अनादर मुद्दामा २ वर्ष कैद सजायको फैसला राणालाई सुनाएको थियो।

पहिलो मुद्दामा २०८१/१०/२८ गते, दोस्रो मुद्दामा २०८२/०१/०८ गते र अन्तिमको चेक अनादर मुद्दामा २०८२/०२/२० गते जिल्ला अदालतले राणालाई २ वर्ष कैद सजाएको फैसला सुनाएको थियो।

त्यसयता उनी फरारको सूचीमा थिए। अदालतको फैसला कार्यान्वन गर्ने तथा फरार प्रतिवादी खोज्ने शिलशिलामा सुराकका आधारमा राणा पक्राउ परेको प्रहरी निरीक्षक विष्टले बताए।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्र डम्मर पाल सहितको प्रहरी टोलीले राणालाई पक्राउ गरेको थियो। पक्राउ परेका राणा पेशाले घर जग्गा कारोबारीका साथै नदी तथा खोलाजन्य वस्तु बालुवा गिट्टीको कारोबार गर्दै आएका युवा हुन्।

प्रहरी निरीक्षक विष्टका अनुसार पक्राउपछि सोमबार नै राणालाई जिल्ला अदालत बाँकेमा पेस गरिएको थियो। अदालतको आदेशले सोमबार नै तोकिएको सजाय भुक्तान गर्नका लागि राणालाई कारागार चलान गरिएको हो।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार