बाजुरामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

बाजुरा । बाजुराको कोल्टी क्षेत्रमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । कालजाग्रास्थित नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ परेपछि सेवा अवरुद्ध भएको हो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा कोल्टीमा बैंकिङ गतिविधिलगायत अन्य सम्पूर्ण अवरोध भएको छ । फोन र नेट दुवै सेवा बन्द हुँदा सरकारी तथा गैरसरकारी संस्थाको कामकाज प्रभावित भएको छ । टेलिकम बाजुराका अनुसार काठमाडौँबाट सामान मगाउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको जनाएको छ । डडेल्धुराबाट प्राविधिक टोली आइसकेको र सामान बाटोमा रहेकाले सोमबार साँझसम्म सेवा सञ्चालनमा आउन सक्ने जनाएको छ ।