भारी हिमपातले मुगुमा खाद्यान्न ढुवानी अवरुद्ध

मुगु । मुगमा भारी हिमपातले गर्दा खाद्यान्न ढुवानी अवरुद्ध भएको छ । मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोड लगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चल्न कठिनाइ भएपछि खाद्यान्न ढुवानी गर्न मुस्किल भएको हो ।

हिमपातले गर्दा खाद्यान्न ढुवानी रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए । उनले ढुवानी अवरुद्ध भएपछि गोदाममा चामल सकिँदै गएको बताए । हाल गमगढीस्थित मुख्य कम्पनीको गोदाममा पाँच सय क्वीन्टल चामल रहेको उनले जानकारी दिए । भारी हिमपातले गर्दा जिल्लामा खाद्यान्न अभावको संकेत देखा पर्न थालेको छ ।

सुर्खेत‚ नेपालगञ्ज‚ बर्दिया‚ राजपुरदेखि सतहमार्गबाट मुगुमा खाद्यान्न ढुवानी गरिँदै आएको भए पनि दुई पटकको हिमपातले गर्दा ढुवानी गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जनाए ।

हिमपातले सीमित खाद्यान्नमात्र नभएर व्यापारीका अन्य सामान ढुवानीमा समेत कठिनाइ भएको छ । सडक अवरुद्ध हुँदा नेपालगञ्ज‚ सुर्खेतदेखि व्यापारीलाई खाद्यान्न लगायत सामग्री जिल्लासम्म पुर्‍याउन गाह्रो भएको छ ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी हिमपातले अवरुद्ध भएको गमगढी नाग्मा सडक खण्ड डोजर स्काभेटर लगाएर बिहीबार अपराह्नदेखि सडक खुलाइसकेको प्रमुख जिल्ला अधिकारी महतले बताए ।