ओमिक्रोन भेरियन्टबाट बच्ने उपाय

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गार्‍हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने बताए ।

उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिए । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।

बच्ने उपाय

यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड अर्थात् भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटकपटक धुनु पर्छ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।

यस्तै सङ्क्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६।५ प्रतिशतले पहिलो मात्रा र ५६।९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

यस्तै कूल जनसङ्ख्याको ५०।२ प्रतिशतले पहिलो मात्रा र ३७।३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।