काठमाडौं पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित बुटवलको सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् ।२०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका–७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् । पार्टी परित्याग गर्नेमा कांग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य समेत छन् ।
कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उनीहरुले बताएका छन् । पार्टीमा लामो योगदान गरेपनि नेतृत्वले निर्वाचनका बेला मूल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हावी भएकोले पार्टी परित्याग गनेै निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।
यसअघि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि कांग्रेस नेता मातृका यादवले पनि पार्टी छाडेका थिए । बुटवल उपमहानगरपालिका–३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए ।
ए.के. सञ्चार । १४ बैशाख २०७९, बुधबार ०८:२४