काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, बारा, स्याङ्जा र मोरङमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२–०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका–५ बस्ने २७ वर्षीय भरत शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मुत्यु भएको हो ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनस्थित सडकमा बा।३ ख ६२६५ नम्बरको माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५६ वर्षीय लक्ष्मण राई रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक लु।२ ख १९४२ नम्बरको ट्रक र ना।५ च २८७३ नम्बरको बोलेरो मंगलबार बेलुकी ठेक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हार बस्ने २५ वर्षीय अजय सहनी छन् ।
स्याङ्जाको हरिनास गाउँपालिका–१ भुटियाखोलास्थित सडकमा ना।६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ सालडाँडा बस्ने ६६ वर्षीय बुद्ध भुजेल रहेका छन् । ट्याक्टरबाट खसेका उनको सोही ट्याक्टरले किच्दा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–३ शान्ति चोकमा बागमती प्रदेश–०१–०२७ च २२६६ नम्बरको कारले मे.२ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–२ बगवन बस्ने ३० वर्षीय शोभा राजबंशी रहेका छन् ।
ए.के. सञ्चार । १४ बैशाख २०७९, बुधबार १३:५८