असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने

काठमाण्डौ । आउँदो असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० प्रतिशत यात्रु क्षमतामा आउँदो १७ गतेदेखि आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

मङ्गलवार (अस्ति) मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि गन्तव्य निश्चित हुने र नागरिक उड्डयन प्राधिकरणले उडानको समय तालिका र उडान सङ्ख्या निश्चित गरेलगत्तै आन्तरिक उडान सुरु हुनेछ ।