दैलेख । दैलेखको नारायण नगरपालिका–३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो । कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रमअन्तर्गत छनोट गरिएको २० परिवारलाई बाख्रा दिइएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलव्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए ।
आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारहरूलाई लक्षित गरी बाख्रा ब्लग कार्यक्रमको पहिलो चरणमा १८ किसानले कुल ६३ वटा बाख्रा वितरण गरिएको छ भने लगत्तै थप एक सय ३७ वटा बाख्रा वितरण गरिने छ ।
किसानको लागत साझेदारीमा किसानलाई बाख्रासँगै व्यवस्थित खोरको लागि कुल ४६ हजार नगदसमेत उपलव्ध गराएको छ । बाख्रा ब्लग कार्यक्रमअन्तर्र्गत किसानले २५ प्रतिशत साझेदारी गरेका छन् भने कार्यक्रमले ७५ प्रतिशत अनुदान उपलव्ध गराएको छ । हरेक बाख्रा पालक कृषकले अनुदानमा प्राप्त १० बाख्रा र आफ्नो १० गरप् २० वटासम्म बाख्रा पाल्न सकिने गरी खोरसमेत निर्माण गरिएको छ ।
बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्ट, पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापाकोलगायतको उपस्थिति थियो । अनुदानमा बाख्रा पाएका किसानहरूले बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानीसँगै जीविकोपार्जनमा सहयोग पुग्ने बताएका छन् ।
ए.के. सञ्चार । १७ असार २०७९, शुक्रबार १०:२२