सुर्खेत ।कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र गमगाढ मुगुले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारदेखि रारा क्षेत्रका ग्राहकलाई पुर्याएको हो ।
२०७४ सालमा रारा कन्स्ट्रक्सन प्रालिले रारामा विद्युत् पुर्याउने जिम्मा पाएको थियो । सो प्रालिले समयमै काम गर्न नसकेकाले रारा क्षेत्रमा विद्युत् बाल्न सकिएको थिएन ।अहिले प्राधिकरणले आफै लागेर ५ वर्षपछि विद्युत् उपलब्ध गराएको नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुका निमित्त कार्यालय प्रमुख माधवप्रसाद उपाध्यायले बताए ।
उनका अनुसार १० वर्षदेखि थन्किएको मेसिनलाई पुनः मर्मत गरी सोही मेसिनबाट रारा क्षेत्रमा विद्युत् उपलब्ध गराइएको उपाध्यायको भनाई छ ।रारा क्षेत्रमा विगतका दिनमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र बिजुली प्रयोग हुँदै आएको थियो ।
गमगाढ वितरण केन्द्रको जलविद्युत् गृहबाट उत्पादित बिजुली २४ घण्टा नै आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटेल, कार्यालय र छेउछाउका घरहरूले बिजुली पाएका छन् ।
रारा ताल परिसरमा २५ केभी क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी बिजुली आपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर आजदेखि सञ्चालनमा ल्याइएको बताए ।
‘रारा राष्ट्रिय निकुञ्जको जङ्गलमा झन्डै १० किलोमिटर लाइन बनाउनुपर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो । निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीय वासीसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा बिजुली पुर्याउन सफल भएका छौं’, यादवले भने ।
ए.के. सञ्चार । २१ असार २०७९, मंगलवार ०८:०४