कोरोनाको खोप सबै ठाउँमा पुर्‍याउन डब्लूएचओले ल्यायो नयाँ योजना

जेनेभा : विश्व स्वास्थ्य संगठनले कोभिड १९ को खोपमा न्यायोचित पहुँच सुरक्षित गर्न हालै ल्याएको नयाँ कार्यक्रम ‘कोभेक्स’मा विश्वका १ सय ७२ देशहरु सहभागी भएका छन् ।

डब्लूएचओले यही सोमबार यो सुविधाबारे जानकारी दिएको हो । तर यसका लागि थप कोषको आवस्यकता रहेको र त्यसका लागि देशहरुको प्रतिवद्धता आउनुपर्ने बताइएको छ । साथै यही महिनाको अन्त्यसम्म अर्थात्, अगस्ट ३१ सम्ममा देशहरुले यस कार्यक्रममा इच्छा जाहेर गर्न पाउने छन् ।

डब्लूएचओका अधिकारीहरुका अनुसार सेप्टेम्बर १८ सम्म पक्का गरिसक्नुपर्ने र अक्टोबर ९ सम्ममा प्रारम्भिक भुक्तान गरिसक्नुपर्ने छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अधनोम घेब्रेससले यो कार्यक्रम कोभिड १९ को महामारी अन्त्यका लागि महत्वपूर्ण रहेको बताएका छन् ।