कोरोनाको तेस्रो भेरियण्टको तयारीमा जुटेका छौं : मन्त्री बुढा क्षेत्री

सुर्खेत,१० साउन । सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले कोरोना महामारीको पहिलो र दोस्रो भेरियण्ट पार गरिसकेपछि तेस्रो भेरियण्टको तयारीमा प्रदेश सरकार जुटेको बताएका छन् ।

आइतबार संवाद समुह सुर्खेतले कर्णालीमा कोरोनाको अवस्था र तयारीका विषयमा गरेको अन्तरक्रियामा मन्त्री बुढा क्षेत्रीले यस्तो बताएका हुन् ।
उनले नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार गम्भीरहेको भन्दै कोरोनाको पहिलो र दोस्रो भेरियण्ट पार गरेर तेस्रो भेरियण्टको आवश्यक तयारीमा प्रदेश सरकार लागि परेको बताए ।

‘कोरोना महामारीको दुवै चरण पार गरिसकेपछि तेस्रो भेरिण्टको आवश्यक तयारी जनशक्ति, उपकरणको व्यवस्थापनमा प्रदेश सरकार निरन्तर लागिरहेको छ,’मन्त्री बुढा क्षेत्रीले भने, ‘नागरिकको स्वास्थ्यप्रति हामी गम्भीर छौं, त्यसैले पनि अहिलेको अवस्थामा पहिलो प्राथमिकता स्वास्थ्य राखेका छौं ।’

कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कर्णालीका विभिन्न स्थानीय तहहरुसँग समेत सहकार्य गरेको मन्त्री बुढा क्षेत्रीले बताए । सामाजिक विकास मन्त्रालयले चौधरी फाउण्डेशनसँगको सहकार्यमा वीरेन्द्रनगर नगर अस्पताल र युएनडिपीको सहकार्यमा मेहेलकुना अस्पतामा अक्सिजन प्लान्टको स्थापनाको काम अन्तिम चरणमा परेको जानकारी दिए ।

मन्त्री बुढा क्षेत्रीले कर्णालीका हरेक नागरिकलाई कोरोना खोपको व्यवस्थापन गर्ने बताउँदै औषधी र जनशक्तिको अभावमा नागरिकले सेवाबाट बञ्चित नहुने भन्दै प्रदेशका विभिन्न नाकाहरुमा हेल्प डेक्ससहित आवश्यक जनशक्तिको व्यवस्थापन गरिसकेको बताए ।