कर्णाली प्रदेश सुर्खेतमा पहिलो पटक ग्याल्भनाइजेशन उद्योग स्थापना

सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतमा ग्याल्भनाइजेशन उद्योग स्थापना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका—२ कोलडाँडामा न्यू भेरी इन्जिनियरियङ वर्कसपले सात करोड २० लाखको लागतमा ग्याल्भनाइजेशन उद्योग स्थापना गरेको हो ।

उद्योगका संचालक वीरबहादुर नेपालीले पश्चिम नेपालमा ग्याल्भनाइजेनश उद्योग स्थापना गर्न आफू सफल भएको बताए । उनले स्थानीय स्तरमा आवश्यक पर्ने ग्रीलगायत झोलुँगे पुल, बेली ब्रिज, विद्युत पोल, टेलिफोन पोल तथा टावरहरु यस उद्योगबाट निर्माण गरिने जानकारी दिए । यसअघि सामान लिन बुटवल, वीरगन्ज जानुपर्ने बाध्यता थियो ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ, जनशक्ति भारतमै निर्भर रहनुपर्ने यस उद्योगले कर्णाली तथा सुदूर पश्चिम प्रदेशमा आवश्यक पर्ने पुल, बेलीबिज्रहरुको आवश्यकता पूर्ति गर्नेछ । उद्योगलाई फुल पेजको विद्युत छैन । संचालक नेपालीले अहिले उद्योगमा ४० जनाले रोजगारी पाएको जानकारी दिदैं यदि फुलफेजको विद्युत आपूर्ति हुन सके कम्तीमा दुई सय जनालाई रोजगारी दिन सकिने दावी गरे । फलामबाट निर्माण गरिएका सामग्रीहरुलाई ग्याल्भजनाइज गरिएमा आयु पाँच गुण बढ्ने उद्योगको भनाइ छ ।

यसैवीच सो उद्योगको शनिवार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले उद्घाटन गरेका छन् । उनले प्रदेशमै नौलो र ठूलो लागतको उद्योग स्थापनाले यहाँका बेरोजगार युवाहरुले रोजगारी पाउनुका साथै झोलुंगे पुल, बेलीब्रिजहरुको आवश्यकता पूर्ति सहज हुने बताए । उनले रोजगारी सिर्जना गर्नमा उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले उद्योगसम्म पुग्ने सडक र विद्युतको स्तरोन्नतिको लागि नगरपालिकाले पहल गर्ने आश्वासन दिए । उनले वीरेन्द्रनगरमा पनि क्रमशः ठूला उद्योगहरु स्थापना हुने क्रम बढिरहेको भन्दै त्यसका लागि सहज बातावरण बनाइने उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा समाजसेवीहरु पार्वती गिरी, कालुराम धौलाकोटीलगायतले ठूलो उद्योग स्थापनाले यहाँको आर्थिक विकासका साथै रोजगारी सिर्जनामा टेवा पुग्ने बताएका थिए । उद्योग संचालक गंगा नेपालीले नेपालमा अझैपनि उद्योगमैत्री वातावरण नभएको गुनासो गरिन् ।