पत्रकारका नाममा ठगी गर्ने दुई जना पक्राउ

सुर्खेत । पत्रकार भनेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूलाई भदौ ३ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

‘सुर्खेत न्युज २४’ को पत्रकार भनेर उनीहरूले परिचय दिएको उनले जानकारी दिए । उनीहरूले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको छ। ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिए ।