कर्मचारीलाई जागिर पकाउने नभइ जिम्मेवारी निभाउन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटका कर्मचारीहरुलाई जागिर पकाउँने मात्र नभइ जिम्मेवारी निभाउन निर्देशन दिएका छन् ।

मंगलबार गृह जिल्ला कालिकोटका कार्यालय प्रमुखसंग छलफल गर्दै मुख्यमन्त्री शाहीले कर्मचारीहरुलाई जागिरे मात्र नबन्न निर्देशन दिए । ‘सरकारी काम, कहिले जाला घाम भन्ने मानसकिता त्याग्नुस, जिम्मेवार बनेर आ–आफनो जिम्मेवारी निभाउनुस,’ शाहीले भने ।

उनले प्रत्येक महिना कार्यालय प्रमुखहरुसंग कामको प्रगतिबारे समिक्षा गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिए । ‘नियमित अनुगमनले नै कामलाई प्रभावकारी बनाउँछ, अनुगमन कम्जोर भए कडाइ गर्नुस, तर काममा कम्परमाइज नगर्नुस,’ उनले प्रजिअलाई निर्देशन दिदै भने ।

गत वर्षको गम्भिर समिक्षा गर्दै चालु आर्थिक वर्षमा समयमै काम सम्पन्न गर्नेगरी जुटनु पर्नेमा मुख्यमन्त्री शाहीले जोड दिए ।

‘कर्मचारीहरुको कार्यशैली जागर नलागेको जस्तो देखियो, अव काममा जागर लगाउनु प¥यो,’ मुख्यमन्त्री शाहीले भने ।

उनले थपे, ‘सेवाग्राहीलाई दुखी भन्दा खुसी पार्न तिर लाग्नु प¥यो, योजना छनोट गर्दा आवश्यकताको आधारमा गर्नुस, मान्छेको अनुहार हेरेर हैन् ।’

मुख्यमन्त्री शाहीले विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको भन्दै सबै मिलेर रोक्नु पर्ने बताए ।