सुर्खेतको पर्यटकीय स्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदै

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजना अनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो ।

प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर्ष २०७६र०७७ देखि बुलबुले क्षेत्रमा संरचना निर्माणको काम अघि बढाएको हो । ताल विस्तारका लागि हालसम्म रु दुई करोड खर्च भइसकेको छ । आयोजनामा प्राविधिक सहयोग गरिरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका इञ्जिनीयर गोकर्ण थापाले १२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको ताल बढाएर २८ हजार ५०० वर्गमिटर बनाउन लागिएको बताए ।

उनका अनुसार बुलबुले क्षेत्र हुँदै बगिरहेको इत्राम खोलामा तटबन्ध निर्माण, पैदलमार्ग, ताल विस्तारको काम सम्पन्न भइसकेको छ भने यस वर्ष वनभोज स्थलतर्फ पुग्न खोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ । विस्तार गरिएको तालमा पानी चुहिने समस्या भएकाले ताल पूर्णरुपमा भरिन पाएको छैन ।

साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत ३०० पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ ।

विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । नगरप्रमुख देवकुमार सुवेदीले तालको संरक्षणसँगै यसको आकर्षण र महत्व झन बढ्ने बताउँदै भने, “बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर हेर्न लायक बनाउँदैछौँ ।” उनले बृहत् गुरुयोजना अनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिए ।

बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको सङ्कलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरुषका लागि पाँच÷पाँचवटा धारा छन् । ताल विस्तार सम्पन्न भइसकेपछि ¥याफ्टिङ सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।