चार दर्जन बढी स्वास्थ्य संस्थाहरुको भौतिक सुधार गरिने

सुर्खेत । सुर्खेत र दैलेखका चार दर्जन बढी स्वास्थ्य संस्थाहरुको भौतिक सुधार गरिने भएको छ । युएसएआइडीले स्वच्छता परियोजनाबाट सुर्खेत र दैलेखका गरी ५० वटा स्वास्थ्य संस्थाहरुको भौतिक संरचनामा सुधार गर्ने भएको हो ।

मंगलवार सुर्खेतमा परियोजनावारेको जानकारी दिदैं परियोजना प्रमुख वीवी थापाले सल्यान, रुकुम पूर्व र पश्चिम, जाजरकोट र डोल्पामा यो कार्यक्रम चार वर्षदेखि संचालनमा भइरहेको र यसैवर्षबाट दैलेख र सुर्खेतमा पनि संचालन हुने जानकारी दिए ।

उनले यस परियोजनाबाट सुर्खेत र दैलेखका २५÷२५ वटा स्वास्थ्य संस्थाहरुमा स्वच्छ खानेपानी, हातधुने स्टेशन र शौचालय निर्माण गरिने बताए । यसका साथै पानी र शौचालय नभएका बर्थिङ सेन्टर र पानी बोक्नुपर्ने स्वास्थ्य संस्थाहरुको भौतिक सुधार पनि यसबाट गरिनेछ ।

स्वास्थ्य संस्थाहरुमा स्वच्छ खानेपानी र शौचालय निर्माणको काममात्रै यो परियोजनाले काम गर्ने उनको भनाइ छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा स्वास्थ्य संस्थाहरुको छनौट गरिने बताइएको छ ।

यसैगरी हेमन्त बस्नेतले स्वच्छता सूचनामार्फत समुदायस्तरमा आनीबानी परिवर्तनजस्ता कामहरु पनि यसबाट गरिने जानकारी दिए ।
कार्यक्रममा स्थानीय समन्वय अधिकारी कृष्ण पन्तले कार्यक्रम गर्दा दोहोरोपन हुन नहुने र समन्वयमा ध्यान दिन सुझाव दिए ।

यस्तै सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वास्थ्य संस्थाहरुको संरचना सुधारमा यो परियोजनाले सहयोग गर्ने भएकोमा खुशी व्यक्त गरे ।

उनले स्वास्थ्य संस्थाका साथै विद्यालयका शौचालयहरुको सुधारतर्फ पनि कार्यक्रम ल्याउन आग्रह गरे । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सिडिई रमेश सुवेदीले स्वच्छतामा कर्णाली प्रदेश कमजोर भएकोले यस परियोजनाले थोरै भएपनि अवस्था सुधार हुने अपेक्षा व्यक्त गरे ।

उनले सार्वजनिक शौचालयहरुको अवस्था पनि दयनीय भएकोले तिनीहरुको सुधार गर्न पनि सुझाव दिए । जनस्वास्थ्य सेवा कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले भौतिक संरचना कमजोर भएका स्वास्थ्य संस्थालाई यस कार्यक्रममा छनोट गरिने उल्लेख गरे ।