वीरेन्द्रनगरमा सरसफाई सप्ताह सुरु

सुर्खेत । अन्तरनिर्भर समाज सुर्खेतले वीरेन्द्रनगरमा सरसफाई सप्ताह सुरु गरेको छ । सयूक्त राष्ट्र विकास कार्यक्रम फिल्ड कार्यालय सुर्खेत र र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा अन्तरनिर्भर समाज सुर्खेतले शुक्रबारदेखि सप्ताह सुरु गरेको हो । हरित पुर्नउत्थान परियोजना अन्तर्गत वीरेन्द्रनगर नगरपालिकालाई सुन्दर वीरेन्द्रनगर बनाउन सहयोग पु¥याउने उद्देश्यले सरसफाई सप्ताह तथा अभियान सुरु गरेको हो ।

अन्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक बिवेक शाहीले एक हप्तासम्म सरसफाईका कार्यक्रम संचालन हुने जानकारी दिए । वीरेन्द्रनगरको फोहोर व्यवस्थापनमा सघाउने, सुन्दर नगर बनाउन सहयोग पुग्ने उद्देश्यले सप्ताहका रुपमा कार्यक्रम गरेको र सरसफाई अभियानमा निरन्तर लाग्ने उनको भनाई छ ।

परियोजना अन्तर्गत ग्रिन स्वयसंसेवक १० जना र सरसफाई अभियानकर्ता ३० जना व्यवस्था गरिएको र अन्य संघसंस्थासँग पनि साझेदारी गरेर सरसफाई अभियानमा सुरु गरिएको बताए । वीरेन्द्रनगरका सडक छेउमा लगाइएका विरुवाको हेरचाह गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन प्रेरित गर्ने, घरघरमा गएर फोहोर व्यवस्थापन सम्बन्धि चेतना जगाउने लागायतका कार्यक्रम गर्ने संस्थाले जनाएको छ ।

उनले वीरेन्द्रनगरलाई स्वस्छ र सुन्दर गराउनका लागि सबैको हातेमालोको आवश्यक रहेको बताए । उनले भने आफुले गरेको फोहोर हामी आफैले व्यवस्थापन गर्नुपर्छ । आफैबाट सुरुवात गर्न सके परिवर्तन हुन्छ । सरसफाई अभियानमा हामी सबै जोडिएर लाग्यौँ भने वीरेन्द्रनगरलाई स्वच्छ गराउन सकिन्छ ।’

सरसफाई अभियान नगरका सबै वडामा संचालन गर्ने उनले बताए । सरसफाई कार्यक्रममा सुर्खेत महिला जेसीज, वागमति सरसफाई अभियान, सुन्दर नेपाल संस्था र नगरपालिका प्रतिधिनिधिहरुको सहभागिता थियो ।