कर्णालीमा पहिलो बीउ उद्योग सुर्खेतमा स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पहिलो बीउ उद्योग सुर्खेतमा स्थापना भएको छ । प्रदेशमा शितल एग्रो बिजनेस प्रालिले कर्णाली सरकारको आर्थिक सहयोगमा बीउ उद्योग स्थापना गरेको हो ।

एग्रो बिजनेसलाई कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोग गरेको छ । उक्त सहयोगसँगै प्रदेशकै पहिलो बीउ उद्योग स्थापना भएको हो ।

३० लाखको लगानीमा सुरु भएको उद्योगले आफ्ना उत्पादन बजारमा समेत पठाउन सुरु समेत गरिसकेको छ । उद्योगलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब ३ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । उक्त रकम मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने छ ।

उद्योगले विभिन्न कृषि वस्तुका बीउ संकलन गरेर कर्णालीका कृषि समूह, सहकारी र किसानलाई उपलब्ध गराउने छ । कर्णालीमा उत्पादित बीउ बिजनको स्वदेशसँगै विदेशमा समेत उच्च माग रहेको छ ।