दिसाजन्य लेदो व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्र निर्माण

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्र निर्माण भएको छ । एसएनभी नेपालले करिव दुई करोडको लागतमा वीरेन्द्रनगर नगरपालिका—१ को कृष्ण सामुदायिक वन क्षेत्रको तारेभिरमा सो सो केन्द्र निर्माण गरिदिएको हो ।

एसएनभी नेपालका पूर्वाधार सल्लाहकार राजु श्रेष्ठले पहिलो चरणमा दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको बताए । काठमाडौंको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दिपमाला इन्जिनियरिङ कम्पनीसँग दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणको सम्झौता भएको थियो । एक करोड ९७ लाखमा तयार भएको सो केन्द्रप्रति विभिन्न निकायले विशेष नजरले हेर्ने गरेको उनको भनाइ छ ।

केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर रहेको छ । दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २.५ मेट्रिक टन ठोस फोहोर प्रशोधन हुने गरी सो केन्द्रको डिजाइन तयार पारिएको छ । प्राविधिक सल्लाहकार श्रेष्ठले तोकिएको अवधिभित्रै सो केन्द्र निर्माण गर्न सफल भएको बताए ।

सो दिसाजन्य लेदो व्यवस्थापन केन्द्र एसएनभीले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा एसएनभीका सरसफाई विभाग निर्देशक सुनेत्रा ललाले दिसाजन्य लेदो व्यवस्थापन गर्न यस प्रशोधन केन्द्रले धेरै सहयोग पु¥याउने बताइन् । उनले नगरका घरधुरीबाट निस्कने दिसाजन्य लेदो व्यवस्थापन गर्न अव समस्या नहुने उल्लेख गरिन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दिसोजन्य लेदो व्यवस्थापनका लागि निर्माण गरिएको प्रशोधन केन्द्र नगरपालिकाको महत्वकांक्षी योजना भएको बताए । उनले अव ठोस फोहोर व्यवस्थापनका लागि अर्को चरणमा काम गर्न आवश्यक रहेको भन्दै प्रशोधन केन्द्रको दीर्घकालीन संचालन गर्न योजना बनाइसकेको जनाए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रशोधन केन्द्र संचालनका लागि ३ जना जनशक्ति तयार रहेको जानकारी दिए । केही शुल्क लिएर यसको संचालनलाई थप दीर्घकालीन बनाइने जानकारी दिदैं उनले नियमित अनुगमन पनि गरिने उल्लेख गरे ।

नगरपालिकाका प्रशासन अधिकृत तथा सरसफाई फोकल पर्सन प्रकाश पौडेलले प्रशोधन केन्द्रमा तयार गरिएको कम्पोष्ट मल विक्रीवितरणका लागि अर्को चरणमा काम गरिने बताए । उनले यसपछि ठोस फोहोर व्यवस्थापनका लागि कामहरु थालिने बताए ।