विपन्न सय परिवारलाई खाद्यान्न सहयोग

सुर्खेत । दलित महिला संघ सुर्खेतले भेरीगंगा नगरपालिका वडा नं. ८, ९, १० र ११ र १३ का विपन्न दलित, अपांगता भएका, गर्भवती, एकल महिला, ज्येष्ठ नागरिक तथा कोभिडबाट प्रभावित भएका अति विपन्नलाई करिव एक सय जनालाई खाद्यान्न सहयोग गरेको छ । बुधवार दलित महिला संघका अध्यक्ष मन्जु सुनार, भेरीगँगा नगरपलिका —११ नं. वडाअध्यक्ष तिलकराम डाँगी, संघका सचिव खगिसरा वली, कार्याक्रम संयोजक सीता नेपाली लगायतको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको हो ।

कोभिडबाट प्रभावित भएका तथा अति विपन्न परिवार र त्यसमा पनि दलित महिलाहरुलाई चाडपर्वको मुखमा थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको अध्यक्ष सुनारले बताइन् । उनका अनुसार यसअघि पनि वीरेन्द्रनगर नगरपालिका—१ मा दलित महिलाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरिएकाे थियाे ।

दलित महिलाहरुको मानवअधिकार परियोजना अन्तर्गत भेरीगंगामा गठन भएको समूहमा आवद्धहरुलाई उक्त सहयोग गरिएको संघका सचिव खगिसरा वलीले बताइन् । चामल, दाल, नुन, तेललगायत मास्कहरु सहयोग गरिएको छ । साढे ५ लाख बढीको सहयोग गरिएको हो ।
वडाअध्यक्ष डाँगीले विपन्न परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । संघका सचिव वलीले अव वीरेन्द्रनगर नगरपालिकामा पनि संघद्वारा गठन गरिएका समूहमा आवद्धलाई सहयोग गरिने जानकारी दिइन् ।