काईनेटिक ढुंगासहित दुई जनालाई पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले काईनेटिक ढुंगासहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले अवैध काईनेटिक ढुंगाको कारोबार गरिएरहेको अवस्थामा दुई जनालाई वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुँनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेत छन् ।

घरधनी बस्नेतको घरमै कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार विना अनुमति लुकाइ राखेको अवस्थामा १९ किलो ४० ग्राम काईनेटिक ढुंगा बरामद भएको छ । ति ढुंगाको बजार मुल्य झण्डै दुई लाख रहेको घर्तीको भनाई छ । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।