मुगु गमगढी बजारमा भीषण आगलागी, पसल र घरहरू जलेर नष्ट

मुगु । मुगु गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आगलागी हुँदा २० घरटहरा जलेर नष्ट भएका छन् । राति करिब १२ः३० मा सुरू भएको आगलागी बिहान ४ः३० मा मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । आगो फैलिन नदिन प्रहरीले एक घर भत्काउनु परेको उनले भने, । स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको भट्टराईले बताए । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको उनले बताए ।

आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ। उनीहरूलाई राहत उपलब्ध गराउन आज बिहान जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेको बताइएको छ ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ। पसल भएका घरहरू पनि जलेकोले धेरै क्षति भएको अनुमान छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।