सुर्खेतमा ४ लाख १० हजार जनसंख्या पुग्ने अनुमान

सुर्खेत । गत कार्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना बिहीबार (हिजाे) सकिएको छ । यसपाली सम्पन्न भएको जनगणना अनुसार अब सुर्खेतको जनसंख्या बढ्ने देखिएको छ । ६० हजारभन्दा बढी जनसंख्या बढ्ने अनुमान गरिएको कर्णाली प्रदेश जनगणना कार्यालय सुर्खेतका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए ।

यसपटक सुर्खेतका तीन पालीकामा जनसंख्या बढेको देखिन्छु उनले भने, करिव ६० देखि ७० हजारसम्म जनसंख्या बृद्धि हुने अनुमान छ । यसअघि सम्पन्न २०६८ सालको जनगणनामा तीन लाख ५० हजार रहेको सुर्खेतको जनसंख्या अब चार लाख १० हजार पुग्ने कार्यालयको अनुमान छ । जसमध्ये प्रदेश राजधानी रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोटमा धेरै जनसंख्या बृद्धि भएको अनुमान गरिएको छ।

शहरीकरण भएका स्थानीय तहमा जनसंख्या तीव्र रुपमा बढेको पौडेलले बताए । जहाँ शहरीकरण छ, त्यहाँ जनसंख्या बृद्धि भएको छु उनले भने, वीरेन्द्रनगरमा मात्रै ६० प्रतिशतले जनसंख्या वृद्धि भएको छ । गणकले उपलब्ध गराएको विवरण अनुसार जनसंख्या बृद्धि हुनेमा वीरेन्द्रनगर पहिलो स्थानमा देखिएको छ । वीरेन्द्रनगरपछि भेरीगंगा र गुर्भाकोटमा धेरै जनसंख्या बृद्धि भएको अनुमान गरिएको छ । प्रादेशिक राजधानी भएका कारण वीरेन्द्रनगरमा जनसंख्या बृद्धि भएको हो भने भेरीगंगा र गुर्भाकोट शहरोन्मूख क्षेत्र भएका कारण जनसंख्या बृद्धि भएको जनगणना कार्यालयले जनाएको छ ।

सुर्खेतकै चौकुने, चिङ्गाड र सिम्तामा भने जनसंख्या बृद्धि न्यून छ । प्रदेशका अन्य जिल्लाहरुमा पनि गाउँघरमा जनसंख्या बृद्धि छैन। शहरीकरण भएका र सडकको पहुँच पुगेका स्थानमा मात्रै जनसंख्या बृद्धि भएको छ । सदरमुकामा पनि जनसंख्या बृद्धि खासै बृद्धि भएको छैन । समग्रमा प्रदेशभर थोरै मात्र जनसंख्या बृद्धि हुने जनगणना कार्यालयको अनुमान छ । प्रादेशिक कार्यालयका अनुसार सुर्खेतसहित कर्णालीका सबै जिल्लामा सहज रुपमा जनगणना सकिएको छ । कार्तिक २५ गतेदेखि देशभर सुरु भएको राष्ट्रिय जनगणना सुर्खेतसहित कर्णाली प्रदेशमा शान्तिपूर्ण रुपले सम्पन्न भएको छ ।

हुम्ला र डोल्पाका केही स्थानमा स्थानीयहरु बेसी झरेका कारण जनगणना संकलनमा केही असहज भएको हो । हिमाली जिल्लामा हिमपातका कारण केही कठिनाईहरु भए, तर सबै ठाउँमा तोकिएकै अवधिमा सकिएको छु प्रमुख पौडेलले भने, कर्णालीमा सबै जिल्लामा सहज रुपले जनगणना सकिएको छ । १२ औं राष्ट्रिय जनगणनालाई सफल बनाउन कार्यालयले कर्णालीमा प्रदेशमा दुई हजार ३२ जना गणक र चारसय ८० जना सुपरीवेक्षक खटाएको थियो । जसमध्ये सुर्खेतमा मात्रै पाँचसय १८ गणक र एकसय १६ जना सुपरीवेक्षक, दैलेखमा तीनसय नौ जना गणक र १६ जना सुपरिवेक्षक, रुकुपश्चिममा दुईसय ८० गणक खटिएका थिए ।

यस्तै सल्यानमा दुई सय ९१ गणक र ७३ जना सुपरीवेक्षक, मुगुमा ९० जना गणक र २० जना सुपरीवेक्षक, जुम्लामा ४१ जना सुपरीवेक्षक र एकसय ४८ जना गणक हुम्लामा २३ जना सुपरीवेक्षक र ८२ जना गणक, कालीकोटमा एकसय ९३ गणक र ५१ सुपरीवेक्षक, डोल्पामा ८१ जना गणक र १९ जना सुपरीवेक्षक र जाजरकोटमा दुईसय ४० गणक र ६४ सुपरीवेक्षक खटाइएको थियो । खटिएका सबै गणक र सुपरीवेक्षकले सहज रुपमा जनगणना सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

युगआह्वान दैनिकमा प्रकाशित छ ।