जुम्लामा अपाङ्गता भएकालाई राहत वितरण

जुम्ला । जुम्लामा अपाङ्गता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई राहत वितरण गरिएको छ । कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिकी सहज बनाउन राहत वितरण गरिएको हो ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ लाई राहत वितरण गरिएको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ ।

कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताउनुभयो । विभिन्न खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताए ।

विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो । टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ ।