एक महिनादेखि बन्द सुर्खेत विमान स्थल सञ्चालनमा

सुर्खेत । सुर्खेत विमान स्थल पुनः सञ्चालनमा आउने भएको छ । एक महिनादेखि बन्द धावनमार्ग मर्मतको काम सकिएपछि (आज) मंगलवार देखि विमानस्थल सञ्चालन गर्न लागिएको हो । मंसिर १० गतेदेखि विमानस्थल मर्मतको काम थालिएको थियो ।

विमानस्थल सञ्चालन हुने भएपछि मंगलवारका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं-सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत-काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो । नेपालगञ्जमा दैनिक विमानस्थलको धावनमार्ग मर्मतको काम सकियो पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गर्थ्यो ।

धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार विमानस्थलमा धावनमार्ग ओभरले गर्ने काम सम्पन्न भएको छ ।