एक वृद्धाको मृत्यु भएपछि कर्णाली राजमार्ग ठप्प (फोटो फिचर)

सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकमा मोटरसाईकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि कर्णाली राजमार्ग ठप्प भएको छ । वीरेन्द्रनगर भित्रने मुख्य नाका बाँगेशीमलमा मोटरसाईकल ठक्करबाट मृत्यु भएकी वीरेन्द्रनगर–२ निवासी नन्दकली कंडेलका आफन्तले राजमार्ग बन्द गरेका हुन् ।

बन्दकर्ताले बाँगेशीमल प्रहरी चौकी र बाँगेशीमल बजार क्षेत्रमा सडकमा ढुंगा र काठ तेस्र्याएर सडक अवरुद्ध गरिरहेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर र बाह्य जिल्ला जाने यात्रुहरु सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् । प्रहरीले भने वास्तविक चालकको पहिचानका लागि अनुसन्धान गरिरहेकाले सम्वादमा आउन अपिल गरेको छ । तर सोमबार विहानैदेखी जारी वार्ता असफल भएपछि सक्कली चालक पक्राउ गर्नु पर्ने र पीडितलाई उचित क्षतीपूर्तिको माग राख्दै आफन्तले बाँगेशीमलमा आन्दोलन गरिरहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–२ बाँगेशीमल बस्ने एक वृद्धालाई ठक्कर दिने चालक नै नक्कली खडा गरेपछि आफन्तले आन्दोलन शुरु गरेका छन् । फोरलेन सडक खण्डको ढोडेखाली खोला पुलदेखि झण्डै दुईसय मिटर पश्चिम विच सडकमा कर्णाली प्रदेश ०२००१ प ८९५० नम्बरको मोटरसाईकल ६१ वर्षीय नन्दकली कँडेललाई आईतबार दिउँसो ठक्कर दिएको हो ।

कँडेलको उपचारको क्रममा आइतबार साँझ मृत्यु भएपछि आफन्त अहिले आन्दोलन शुरु गरेका छन् । कँडेललाई ठक्कर दिने चालक घटना लगत्तै फरार भएको र उनको ठाउँमा नक्कली चालक मोटरसाईकल धनीले खडा गरेपछि आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गराएका छन् ।