मेलमिलापकर्तालाई मजबुत बनाउँन ४८ घण्टाको तालिम

सुर्खेत । वीरेन्द्रनगरमा फागुन २६ गतेबाट शुरु भएको अभ्यास आदान–प्रदान तथा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम शुक्रबार सम्पन्न भएको छ । स्थानीय सरकार सबलीकरण र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको तालिम प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रले आयोजना गरेको थियो ।
तीन दिन सम्म चलेको तालिममा वीरेन्द्रनगर नगरपालिका भित्रका मेलमिलापकर्ताले तामिलको लाभ लिएका थिए भने तालिमको सहजिकरण दिपेन सुवेदी, मोहनमाया ढकाल, बल्लु चौधरीले गरेका थिए ।

यक्त तालिममा वीरेन्द्रनगर उप–प्रमुख तथा न्यायीक समिति संयोजक मोहनमाया ढकालले प्रत्येक वडामा ६ जना मेलमिलापकर्तालाई ४८ घण्टाको तालिम र पुनर्ताजगी दिदै आएको जानकारी दिईन् ।

ढकालले भनिन् ‘लेनदेन, घरेलु हिंसा, अंश निकास, घर, ज्येष्ठ नागरिकलाई पालन पोषण नगरेको, क्षति, फोहोर, नागरिकता, र ज्याला मजदुरी जस्ता मुद्दालाई मेलमिलापकर्ता समाधान गर्दै आउनु भएको छ ।’

यस्तै, ढकालले वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिमा बाटो, जग्गा विवाद, प्रमाण नभएका लेनदेनका विवाद र ज्याला मजदुरी विवादसम्बन्धी धेरै उजुरीहरु पर्ने गरेको र सामान्य विवादलाई मेलमिलापकर्ताले समाधान गर्ने गरेको र यसले गर्दा वीरेन्द्रनगर नगरपालिकाको कार्य सम्पादनमा सहज पुगेको उप–प्रमुख तथा संयोजक ढकालले बताइन् ।

‘द एसिया फाउन्डेसन कर्णाली प्रदेशका संयोजक विशाल आचार्यले समुदायमा हुने साना घटनाहरूलाई स्थानीय स्तरमै मिलाउन सकियो भने भविष्यमा त्यसबाट आउने प्रतिफल राम्रो देख्न सकिने बताए । तालिममा सहभागी उमा आचार्यले यस तालिमबाट सिकेका कुराहरुले समुदायमा मेलमिलापका लागि सहयोग पुग्ने बताईन् ।

यस्तै, स्थानीय निकायलाई स–साना विवाद समाधान मेलमिलापबाट व्यवस्थापन गर्न मेलमिलाप केन्द्रहरूले सहयोग पुर्याउँदै आएको वीरेन्द्रन्गर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन सुवेदीले बताए । उनले समुदायिक विकास र उन्नतिका लागि वर्तमान समयमा सामुदायिक मेलमिलापको अतिनै महत्त्व र आवश्यक रहेको बताए ।

सुर्खेत जिल्लाका ४ स्थानीयतहमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले कार्यक्रम गर्दै आएको छ । वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिका, लेखवेशी नगरपालिका र सिम्ता गाउँपालिकामा सामुदायिक मेलमिलापका कार्यक्रम गर्दै आएको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र सुर्खेत जिल्ला कार्यक्रम संयोजक मिना विश्वकर्माले बताईन् ।