छात्राहरुलाई आत्मसुरक्षा तालिम

सुर्खेत । सुर्खेत महिला जेसीजले सुरु गरेको आत्मसुरक्षा तालिम सम्पन्न भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेत महिला जेसीजले पाँच दिनसम्म विभिन्न विद्यालयमा आत्मसुरक्षा तालिमको आयोजना गरेको थियो ।

कराँते प्रशिक्षक सोना थापाले विद्यार्थीहरुलाई आत्मसुरक्षा तालिम दिएकी थिइन् । सुर्खेत महिला जेसीजका अध्यक्ष मनिषा कौशलका अनुसार फागुन २३ गतेबाट सुरु भएको आत्मसुरक्षा तालिम सोमबार समापन गरिएको हो ।

कार्यकारीणी उपाध्यक्ष सीता भण्डारीका अनुसार २३ गते श्रीकृष्ण संस्कृत तथा साधारण मावि, २६ गते नेपाल राष्ट्रिय मावि, २७ गते शिव मावि, २९ गते नेपाल राष्ट्रिय आधारभूत विद्यालय र ३० गते हरिडिलभूमि माविमा आत्मसुरक्षा तालिम दिइएको हो । उनले करिव १५० जना छात्राहरुलाई आत्मसुरक्षा तालिम दिइएको जानकारी दिइन् ।