शिक्षक लाइसेन्सको परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने

काठमाडाै‌‍‍ । शिक्षण अनुमति पत्र लाइसेन्स को परीक्षामा अबदेखि बस्तुगत प्रश्न मात्रै सोधिने भएको छ। यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ।

शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण अनुमति पत्र लाइसेन्स परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो।

माध्यामिक र निम्न माध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन् । अबदेखि एक सय पूर्णाङ्कको बस्तुगत प्रश्न सोधिनेछ, जसमा ५० वटा प्रश्न हुनेछन्। एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन्। यसका लागि एक घन्टाको परीक्षा हुनेछ भने पास हुन ५० नम्बर ल्याउनुपर्छ।

परीक्षाफल छिटो आउने भएकोले बस्तुगत प्रश्न मात्रै सोध्ने निर्णय गरिएको आयोगका पदाधिकारी बताउँछन् । यो पाठ्यक्रम चैत २ पछि हुने परीक्षामा लागू हुने पनि आयोगले जनाएको छ।