प्रधानमन्त्री देउवा दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउदै

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुर्खेत आउने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा सहभागी हुन उनी सुर्खेत आउन लागेका हुन् ।

एमयूले स्नातक र स्नातकोत्तर अध्ययन गरेका पाँच सय १९ जना विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम छ । मानविकी संकायका डीन लिलाधर तिवारीका अनुसार आज कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा दोश्रो दीक्षान्त समारोहमा विद्यार्थीलाई दीक्षित गरिने भएको हो ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा आज बिहान १० बजे विश्वविद्यालयको सिनेट बस्ने भएको छ । सिनेटमा दीक्षान्त समारोहबारे निर्णय गरिने छ भने ११ बजे देखि सहकुलपति शिक्षा मन्त्री देवेन्द्र पौडेल, नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थी लगायतको उपस्थितिमा ती विद्यार्थीलाई दीक्षित गरिने भएको हो ।

दीक्षित हुने विद्यार्थीमा एकजनाले विद्यावारिधि गरेका पनि छन् । एमयूबाट पूर्णमान श्रेष्ठ पहिलो विद्यावारिधि गर्ने व्यक्ति भएको भन्दै विश्वविद्यालयले उनलाई दीक्षित गर्ने भएको हो ।