सव–इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार

सुर्खेत । ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सव–इन्जिनियरको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका छन् । सव–इन्जिनियरको जागिर छाडेर ३४ वर्षीया कमल रावल अछामको पञ्चदेवल विनायक नगरपालिका–६ मा वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।

लामो सयमदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा सव–इन्जिनियरका रुपमा कार्यरत रहेका रावल नेपाली कांग्रेसबाट पञ्चदेव विनायक नगरपालिका–६ तोलीको उम्मेदवार बनेका हुन् । रावल डेढ वर्षदेखि अछाम पञ्चदेवल विनायक नगरपालिकामा सव–इन्जिनियर रुपमा कार्यरत रहेका थिए ।

सरकारी सेवाबाट भन्दा आफूले राजनीतिक रुपमा नागरिकको सेवा गर्नका लागि सव–इन्जिनियरको जागिर त्यागेर वडा अध्यक्षमा उम्मेदवारी दिएको रावलले बताए । उनले सरकारी सेवा भनेको नितान्त व्यक्ति रुपमा काम गर्ने पेसा भएको बताए ।

त्यो पेसा छाडेर आफुलाई राजनीतिकबाट नागरिकको सेवा गर्न इच्छा भएका कारणले सरकारी सेवा छोडेको उनी बताउँछन् । उनले अबका दिनमा जनप्रतिनिधि भएर समाजसेवा गर्ने इच्छा भएका कारणले नागरिकसँग जोडिनका लागि राजनीतिमा आएको जिकिर गरेका छन् ।