बैतडीमा ४ दिनदेखि विद्युत सेवा अवरुद्ध, दैनिक जीवन प्रभावित

बैतडी ।बैतडीका विभिन्न स्थानमा गत ४ दिन यता विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ ।

ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए । उनले भने, ुतीन दिनदेखि विद्युत सुचारु भएको छैन । विद्युतका कर्मचारीलाई सोध्दा डपआउट फ्युजको अभावले समस्या पत्ता लगाउन नसकेको बताउँछन् ।

विद्युत सेवा अवरुद्ध हुँदा सञ्चारका माध्यमसमेत प्रभावित भएकाछन् । सुक्रबार आएको हावाहुरीसँगै विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सुचारु गर्न कर्मचारी खटाए पनि सबै ठाउँमा विद्युत सुचारु हुन सकेको छैन । वर्षा र हावाहुरीका कारण जिल्लाभरी अवरुद्ध भएको विद्युत सदरमुकाम र आसपासका क्षेत्रमा भने आज सुचारु भएको छ ।