रुकुम पश्चिममा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप, दश जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् । अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएका छन् ।

यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडाअध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते भएका हुन् । त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते भएका छन् ।

त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झपडमा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् । वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते भएका छन् ।

विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।