जुम्लाको चन्दननाथमा दलीय उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारको चुनौती

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाका दलीय उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । ३० वैशाखमा हुने निर्वाचन सबैभन्दा रोचक प्रतिस्पर्धा चन्दननाथ नगरपालिकामा हुने देखिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादीले जित हात पारेको थियो । यसपटक नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनौती दिने देखिएको हो ।

कांग्रेसका राजुसिंह कठायतले नगरप्रमुखको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा आएका छन् । कठायतलाई एकीकृत समाजवादी पार्टी र राप्रपाको पनि समर्थन छ । जसमा समाजवादीले नगरप्रमुख पदमा उठाएका जयलक्ष्मी चौलागाईंलाई उम्मेदवार फिर्ता लिन लगाएको थियो भने राप्रपाका पूर्णसिंह कठायतले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार कठायतलाई समर्थन गरिसकेका छन् ।

एकीकृत समाजवादीका नगर उपप्रमुखका उम्मेदवार भीम थापालाई स्वतन्त्र उम्मेदवार कठायत र राप्रपाले समर्थन गरेर चुनावी गठबन्धन गरिएको छ । अघिल्लो निर्वाचनमा नगरपालिकामा नगरप्रमुख जित्न सफल कांग्रेसले भने यसपटक नगरप्रमुखमा पदमबहादुर शाही र नगरउपप्रमुखमा रामदेवी खड्कालाई उम्मेदवार बनाएर चुनावी मौदान उतारेको छ ।

माओवादीले युवा नेता जीवनबहादुर बुढ्थापालाई नगरप्रमुखमा र नगर उपप्रमुखमा पूर्णिमा विक (रचना) लाई उम्मेदवार बनाएको छ । स्वतन्त्र नगरप्रमुखका उम्मेदवार कठायत लामो समय निर्माण व्यवसायी क्षेत्रमा काम गर्दै कांग्रेसको राजनीति छिरेका थिए । उनलाई २०७४ सालको निर्वाचनमा कांग्रेस जुम्लाले नगरप्रमुखको टिकट दिने निर्णय गरेको थियो । तर, केन्द्रले कान्तिका सेजुवालको नाममा टिकट पठाएपछि कठायत पक्षले त्यसबेला पनि पार्टी सभापति शेरबहादुर देउवाको समेत पुत्ला दहन गरिएको थियो । कठायतले सेजुवाललाई समर्थन गर्दै नेपाली कांग्रेसले नगरप्रमुख विजय हात पारेको थियो ।

राजुसिंह कठायतलाई भने संसदीय निर्वाचनमा नेपाली कांग्रेसले प्रदेश सभा (क) को उम्मेदवार बनाएको थियो । तर, प्रदेशसभा निर्वाचनमा माओवादीका बलिया नेता नरेश भण्डारीसँग उनी पराजित भएका थिए । जुम्लामा तत्कालीन समयमा संसदीय निर्वाचनमा माओवादी एमालेको गठबन्धन र अर्को माओवादी जुम्लामा बलियो भएकाले कठायत पराजित भएका हुन् ।

अहिले कांग्रेसले आफूलाई टिकट नदिएको भन्दै स्वतन्त्र रूपमा एकीकृत समाजवादी र राप्रपाको साथमा मैदानमा उत्रिएका कठायतले कांग्रेसलाई केही धक्का हुने अनुमान गरिएको छ । एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा ३ वडा नगरपालिकाका जित हासिल गरेको थियो । एमालेले जित हात पारेका नगरपालिकाका वडा नम्बर ६,७ र ८ अहिले एकीकृत समाजवादी पार्टीतर्फ लागेकाले ऐमाले भन्दा समाजवादी बलियो भएको दाबी गर्दै आएको छ ।

कांग्रेस र माओवादीले भने नगरपालिकामा आफ्नो विजय हुने दाबी गरेका छन् । नेपाली कांगेस नगरप्रमुखका उम्मेदवार पदमबहादुर शाहीले पार्टीका मत कतै नजाने र कांग्रेसले चन्दननाथमा फेरी जित्ने दावी गरे । नेकपा माओवादीका नगरप्रमुख उम्मेदवार जीवन बुढ्थापाले कांग्रेस दुई भागमा विभाजन भएकाले अहिले माओवादीको जित हासिल हुने बताउँछन् । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कसले जित्ने जित हुन्छ भन्ने बहस बनेको छ । तर, बलिया देखिएका कांग्रेस माओवादीलाई स्वतन्त्र उम्मेदार कठायतले टक्कर दिन थालेका छन् ।