जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने

जुम्ला । जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगि सक्नेछन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचन सामग्रीसहित मतदानस्थलतर्फ हिडिसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारी पिन मतदान स्थलतिर निस्केका छन् ।जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार सिञ्जा क्षेत्रको सबै टोली निर्धारित स्थलतर्फ लागि सकेको र तिलाको ताम्ति क्षेत्रमा पनि टोली जाने तयारी भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार कनकासुन्दरी गाउँपालिकाको सबै मतदान केन्द्रका मतदान अधिकृतले सामग्री बुझेर लिइसकेका र अन्य पालिकाका बुझ्दै गरिएको छ । कनकासुन्दरीको टोली मतदान सामग्री बुझेर पनि मतदान केन्द्रतिर लागि सकेको छ ।

सबै पालिकाका मतदान अधिकृतहरूको टोली सबै सामग्री बुझेर मंगलबारै सम्बन्धित ठाउँमा पुग्ने छन् ।जुम्लामा एक सय मतदान केन्द्रमा दुई सय चार जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित चार सय ९६ कर्मचारी खटिएका छन् । यस्तै, एक हजार सात सय २१ जना सुरक्षाकर्मी खटिएका छन् ।